Wednesday, October 2, 2013

एभ्रिपोसका रहस्यमय ज्वारभाटा

Posted by Unknown  
3:27 AM

ग्रीसको पूर्वी भागमा, खाल्कीस शहर नजिकै एउटा साँघुरो भूभागले मुख्य भूमिबाट इभोया टापुलाई छुट्याउँछ। यो एभ्रिपोसको नहर हो। यो आठ किलोमिटर लामो छ। यसको चौडाइ १.६ किलोमिटरदेखि कुनै-कुनै ठाउँमा ४० मिटर मात्र पनि छ। यसको गहिराइ कम्तीमा पनि छ मिटर छ। एभ्रिपोस नाउँको अर्थ “तीक्ष्ण धार” हो। यसले पानीको तीव्र बेगलाई राम्ररी वर्णन गर्छ। यसको गति प्रायजसो प्रति घण्टा झण्डै २० किलोमिटरसम्म पुग्छ।

तथापि, अचम्मको कुरा के हो भने, कहिलेकाहीं पानीको धार उल्टातिर फर्कने वा पानी बग्नसमेत ठप्पै हुन्छ! खाल्कीसमा आउने थुप्रै आगन्तुकहरू ज्वारभाटाको यस्तो अनौठो स्वभाव हेर्न यो नहरमाथिको सानो पुलमा भेला हुन्छन्। समुद्रमा सूर्य र चन्द्रमाको असरले गर्दा ज्वारभाटा उत्पन्न हुने गर्छ। यसकारण, सूर्य र चन्द्रमाको तुलनामा पृथ्वीको स्थानले गर्दा ज्वारभाटामा परिवर्तन भइरहन्छ। औंसीको बेला सूर्य र चन्द्र, पृथ्वीको एकैतिर पर्छन्। पूर्णिमाको बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ। दुवै अवस्थामा सूर्य र चन्द्रले असर गर्छ अनि एकदमै ठूलो ज्वारभाटा निस्कन्छ।

एभ्रिपोसमा प्रायजसो हरेक २४ घण्टाको अन्तरालमा दुइटा उच्च ज्वारभाटा र दुइटा निम्न ज्वारभाटा हुन्छन्। यसको बहाउ एउटा दिशातिर ६ घण्टा १३ मिनेट हुन्छ, एकछिन रोकिन्छ र फेरि विपरीत दिशामा फर्केर बहन थाल्छ। यसले चन्द्रमासअनुसार २३, २४ दिनको लागि यस्तै चक्र गर्छ।

तथापि, महिनाको अन्तिम चार, पाँच दिनमा भने अनौठा घटनाहरू हुन थाल्छन्। कुनै-कुनै दिन नहरको बहाउमा केही पनि परिवर्तन हुँदैन। अरू दिनमा भने दिनमा १४ पटकसम्म दिशा परिवर्तन हुन सक्छ!

अनौठो अवस्था वर्णन गर्ने प्रयास एभ्रिपोसको अनौठो स्वभावल अवलोकनकर्ताहरूलाई छक्कै पारेको हजारौं वर्ष भइसक्यो। लोकप्रिय परम्पराअनुसार कस्तो भनाइ छ भने, सा.यु.पू. चौथो शताब्दीका अरस्तु ज्वारभाटाको रहस्य सुल्झाउन नसकेर यो नहरमा हामफालेका थिए। वास्तवमा भन्ने हो भने, तिनी त्यहाँ डुबेका होइनन् तर मिटियोरोलजिकल भन्ने पुस्तकमा तिनले ज्वारभाटाको रहस्य बुझाउने प्रयास गरे। तिनले यस्तो लेखे: “वरपरको जमिनले गर्दा बीचको साँघुरो बाटो भएर समुद्र बगेझैं देखिन्छ। साथै जमिन हल्लिने हुँदा ठूलो ठाउँबाट सानो ठाउँतिर पानी बग्छ।” अरस्तुले त्यो ठाउँमा धेरै भुइँचालो जाने हुँदा समुद्रको छाल सँगसँगै जमिनै हल्लिन्छ भन्ने गलत सोचाइ राखेका थिए। तर लगभग एक शताब्दीपछि युनानी खगोलविद् एराटोस्थेनिसले “[नहरको] दुवै छेउमा समुद्रको सतह फरक फरक हुन्छ” भनेर बुझेका थिए। तिनले पानीको दुई किनाराको उँचाइ फरक-फरक भएकोले धार उत्पन्न भएको हुनुपर्छ भन्ने सोचाइ राखे।

अहिले पनि एभ्रिपोसको ज्वारभाटाको अनियमितता राम्ररी बुझ्न सकिएको छैन। तर कुन कुरा स्पष्ट छ भने,
नहरको दुई छेउको पानीको सतहको भिन्नताले गर्दा नियमित तवरमा धार उत्पन्न हुन्छ। यसले गर्दा अग्लो ठाउँबाट पानी तल्लो सतहतिर बग्छ। यो भिन्नता ४० सेन्टिमिटरसम्म हुन सक्छ र खाल्कीसको पुलबाट छर्लंग्गै देख्न सकिन्छ।

किन यस्तो भिन्नता?
पानीको सतहमा यस्तो भिन्नता कसरी वर्णन गर्न सकिन्छ? पूर्वीय भूमध्य सागरबाट ज्वारभाटाको रूपमा आएको पानी इभोया टापुमा पुगुन्जेल दुई भागमा छुट्टिन्छ। पश्चिमी भाग, नहरको दक्षिणी छेउतिर बग्छ। तथापि, पूर्वीय भाग भने टापुको एक फन्को लगाइसकेपछि मात्र उत्तरतिरबाट नहरमा प्रवेश गर्छ। यो लामो मार्गले गर्दा पूर्वीय नदी एभ्रिपोसमा पुगुन्जेल सवा एक घण्टा ढिलो भइसकेको हुन्छ। यस्तो अवस्थामा समुद्री सतह र फलस्वरूप नहरको एउटा छेउको पानीको चापभन्दा अर्को छेउको चाप बढी हुन सक्छ। यस्तो बढी चापले गर्दा एभ्रिपोसमा बग्ने ज्वारभाटाको धार अझ तीव्र हुन्छ।

तर अनियमित धारहरू नि?
चन्द्रमाको पहिलो र अन्तिम चतुर्थांशको बेला अझ बढी शक्ति प्रदान गर्नुको साटो चन्द्रमा विरुद्ध सूर्यको गुरुत्वाकर्षण बढी हुन्छ। चन्द्रमाले गर्दा निम्न ज्वारभाटा भइरहेको बेला सूर्यले उच्च ज्वारभाटा उत्पन्न गर्न खोजिरहेको हुन्छ। परिणामस्वरूप, यस्तो अवस्थामा नहरको उत्तरी र दक्षिणी छेउका समुद्री सतहबीचको अन्तर कम मात्र हुन्छ। तसर्थ, धारको शक्ति कम हुन्छ। कहिलेकाहीं भने हावा चल्दा धार पूर्णतया सामान्य भएर ठप्पै बन्द हुन्छ। निस्सन्देह, यो धारको अस्पष्ट, रहस्यमय स्वभावबारे बताउन सकिने अझ थुप्रै कुराहरू छन्।

तपाईं कुनै दिन ग्रीसमा पुग्नुभयो भने इभोयामा आफैले एभ्रिपोसको रोमाञ्चकारी ज्वारभाटा अवलोकन गर्नुहोस्!

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top